चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या



अबुजा : राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् । 

राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेकाे बताएका छन् । उनले आक्रमणकारीले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेकाे बताए । 

घटनास्थलमा सुरक्षाकर्मीको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाइ छ । उनीहरुले घटनाका दोषीको खोजी गर्ने क्रममा केही आशंङ्कित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । 

स्थानीय सामुदायिक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्किन नदिन प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिए।  उनीहरुले सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान गरेको समाचारमा जनाइएको छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रम बढ्दै गइरहेका छन् भने हिंसात्मक घटना पनि भएका छन् । 

नाइजेरियामा शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडि सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडि सूचना जारी गर्दै निर्वाचन पछाडि सारेर फेब्रुअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्