विपन्नलाई बास बनाइदिँदै जापानी विद्यार्थी



दमक : झापाको गौरीगन्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेको छ । गौरीगन्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् ।

बेसहारा विक दम्पतीको घर गाउँपालिका र सहारा नेपालले बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा आएका हुन् । ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा विकको घर निर्माण गरेको थियो । 

गौरीगन्जका ३५ विपन्न तथा दलित परिवारका लागि तीनकोठे घर निर्माण गर्ने सहमति गरिएको थियो । गौरीगन्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत एउटा घर एक लाख ५० हजारको लागत दरमा निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । 

पहिलो चरणमा ३५ घरमात्र निर्माण गर्न लागिएको र यो योजना क्रमिकरूपमा अगाडि बढाइने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । जग्गा नभएका परिवारलाई जग्गा उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गरिदिने उनले जानकारी दिए । गाउँपालिकामा कोही पनि घरविहीन नहोस् भन्ने उद्देश्यले यो योजना अघि सारिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

एकै खालका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात् मिस्त्रीबाहेक उपभोक्ता आफैँ लाग्नुपर्ने सहारा नेपाल गौरीगन्ज सेवा केन्द्रका प्रबन्धक उमेश भारतीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्