युरिक एसिड के हो ? यसबाट कसरी बच्ने ??



काठमाडौं : युरिक एसिड विशेष गरेर त्यस्तो मान्छेमा देखिन्छ जो अस्वस्थकर खाना खान्छन् तर शारीरिक श्रम गर्दैनन् । वंशाणुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ । जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरुलाई पनि यो रोग लाग्छ ।

 

यो रोग रगत पातलो बनाउने औषधि, उच्च रक्तचापको औषधि सेवन गरिरहेकालाई पनि लाग्न सक्छ । रातो मासु, सी फुड, दाल, राजमा, मसरुम, टमाटर, बन्दा, मटर, पनिर, भिन्डी, भातलगायतका कारणले शरीरमा युरिक एसिड बढ्ने गर्छ । युरिक एसिड खानाका रुपमा सेवन गरिने प्रोटिनले पनि बढ्ने गर्छ ।

 

जबर्जस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि युरिक एसिडको समस्या हुन सक्छ । शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा युरिक एसिड बढ्छ ।

 

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतया पिसाबबाट बाहिर निस्कन्छ । जब मिर्गौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।

 

मिर्गौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा तीव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधि पनि एउटा कारण बन्न सक्छ ।

 

सुरुसुरुमा युरिक एसिड बढ्नुको कुनै लक्षण देखिँदैन । कयौं मानिसलाई त यसको लक्षण र यसलाई पहिचान गर्ने तरिका पनि थाहा हुँदैन । सामान्यतया, युरिक एसिड बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाइ हुने, औंला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ । युरिक एसिड भएमा हात तथा खुट्टामा तीव्र पीडा हुने गर्छ । युरिक एसिड भएमा मान्छे चाँडै थकित हुन्छ । त्यसबाहेक मिर्गाैलाको समस्या तथा पिसाब फेर्नमा कठिनाइ हुने गर्छ ।

 

युरिक एसिड बढ्यो भने शरीरको जोर्नीमा दुख्ने समस्या आउँछ । तपाईंको उमेर २५ वर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाईं यस रोगको जोखिममा पर्नुहुन्छ । राति सुतेको बेला हात, औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाइ महसुस हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुन सक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको ससाना जोर्नीमा असर गर्छ, जोर्नीमा पीडा महसुस हुन्छ ।

 

युरिक एसिड नियन्त्रण गर्न पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । यसबाट बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ । खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन । रातो मासु, कलेजो, रक्सी, गेडागुडीजस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछन् । हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सी अवश्य लिनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । स्वस्थ खानपान र जीवनशैली अपनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्