लकडाउनका कारण मैथिल महिलाहरु घरमै बटसावित्री पर्व मनाउँदै



फोटो फिचर:

जनकपुरधामः पतिको दीर्घायु एवं सुखमय दाम्पत्य जीवनको कामना गर्दै यस बर्ष अधिकांश मैथिल महिलाहरु शुक्रबार आ-आफ्नो घरभित्रै बरसाइत (बटसावित्री) पर्व मनाईरहेका छन् ।

वरको रूखमा ब्रह्मा, विष्णु तथा शिवको बास हुने एवं सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार आफ्नो पतिको दीर्घायुका लागि व्रत मनाउने गरेको जनकपुरधाम ४ की चान्दनी झाले बताइन् ।

उनले यस बर्ष लकडाउनका कारण पर्वमा केही खल्लो महशुस गरेको समेत बताईन् । उनले भनिन,‘अन्य बर्ष हामी आफ्नो घर र टोलछिमेकका सबै ब्रतालुहरु सँगै राम मन्दिरको प्राङ्गणमा रहेको बरगाछी निर गएर समूहमा पूजापाठ गर्दथ्यौं तर यसबर्ष कोरोनाका कारण घरमै बरसाइत मनाएका छौं त्यसैले केही खल्लो लागिरहेको छ ।’

जेठ महिनाको आमावस्या तिथिमा मनाइने यस पर्वमा विवाहिता महिलाहरु ब्रत बसी वरको रुखमा सामूहिक पूजाअर्चना गर्ने गर्दछन् । तर कोरोना महामारीका कारण जिल्ला प्रहरी कार्यालय धनुषाले यसबर्ष यो पर्व घरभित्रै पूजापाठ गरी मनाउन अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालयको आग्रह पश्चात हिलाहरुले घरभित्रै बरको हाङ्गा ल्याएर पूजापाठ गरेकी छन् ।

यसअघिका वर्षहरुमा वट सावित्रीका बेला जनकपुरलगायत सम्पूर्ण मिथिला क्षेत्रमा गाउँ नजिकको बरको रुखमा पूजा गर्नेको बिहानैदेखि घुइँचो हुन्थ्यो । यो पर्व मनाउने महिलाहरु एकदिन अगाडि नै चोखो भएर अरबा अरबाइन (शुद्ध) भोजन ग्रहण गर्ने गर्दछन् भने पर्वका दिन बिहानै नुहाई नयाँ बस्त्र लगाएर समूहमा बटसावित्रीको गीत गाउँदै पूजा गर्न बरको रुख नजिक पुग्छन् । यसै दिन बरको फेदमा सावित्री-सत्यवानको कथा समेत वाचन गरिन्छ ।

बरको रुख लामो समयसम्म बाँच्ने भएकाले यसको पूजा गर्ने मान्यता रहेको छ । प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ । सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्