वर्कसपबाट आँखैअगाडि मोटरसाइकल चोरी



ढल्केवर : धनुषाको ढल्केवरबाट ग्यारेजबाटै मोटरसाइकल चोरी भएको छ । ढल्केवरको पूर्व चोकमा रहेको आरके अटो वर्क सपबाट बटेश्वर गाउँपालिका वडा नं. ५ बरदोरियाका सियाराम महतोको ज३प २०५६ नम्बरको यामाहा कम्पनीको आल्वा मोटरसाइकल शनिबार दिउँसो २ बजे चोरी भएको हो । मोटरसाइकल मर्मत गराउन सियारामका आफन्त भोगेन्द्रकुमार महतो वर्क सपमा आएका थिए ।

वर्कसपमै पहिलादेखि बसिरहेका एक अपरिचित व्यक्तिले ‘के भो’ भनेर सोधेका थिए । बाइक लिएर आएका महतोले चाबी र अन्य मर्मत गर्नुपर्ने बताएपछि ती व्यक्तिले एकछिन हाँकेर हेरेपछि मात्र के–के मर्मत गर्नुपर्ने बताउने भन्दै हाँकेर बेपत्ता भएको महतोले बताए ।

उक्त व्यक्तिले वर्कसपमा कार्यरत मिस्त्रीकै जस्तो व्यवहार गरेकाले विश्वास गरेर बाइक दिएको महतोले जनाए । वर्कसपका साहु राजकुमार महतोले आफू घरभित्र खाना खाइरहेकाले घटनाबारे केही थाहा नभएको बताए । चोरीको जानकारी भएपछि बाइकको खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्