कोइराला एकठाउँमै छौं, कसैले टाउको नदेखाए हुन्छ : सुजाता 



वीरगन्ज : काेइराला परिवारका तीन का‌ंग्रेस नेता शनिबार वीरगन्जमा आयाेजित एक कार्यक्रममा सहभागी भएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले आयोजना गरेको फोटो प्रदर्शनी तथा विचार गोष्ठीमा कांग्रेसका सुजाता कोइराला, शशांक कोइराला र डा. शेखर कोइराला एकै मञ्चमा सहभागी भए । 

 

गोष्ठीलाई सम्बोधन गर्दै फाउन्डेसनकी अध्यक्ष एवं कांग्रेस नेतृ सुजाता कोइरालाले आफूहरु सधैं एकै ठाउँमा भएको बताइन् । उनले भनिन्, ‘टाउको धेरै दुखाउनेलाई भन्छु, टाउको नदुखाउनुस्, चिन्ता नगर्नुस्, हामी तीन कोइराला एक नै छौं ।’ आफूहरु तीनैजना छलफल गरेर नै कार्यक्रममा सहभागी भएको उनले बताइन् । 

 

उनले बिपी कोइराला र जिपी कोइरालाको विचारको जुन दिन अन्त्य हुन्छ, त्यस दिन  कांग्रेस पनि समाप्त हुने दाबी गरिन् । ‘त्यसैले बिपी र जिपी कोइरालाको विचारलाई अगाडि बढाउँदै कांग्रेसलाई बचाउन विवाद अन्त्य गरी एकजुट भएर बढ्नुपर्छ’, उनले भनिन् । देशको लोकतन्त्र मजबुत बनाउन पनि नेताहरु एकजुट हुनैपर्ने उनको भनाइ थियो । फाउन्डेसनले तीनैजनालाई १ सय २१ किलोको माला पहि¥याएर स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्