राउत सरकारको जाली काम, ‘हेलो सिएम’ निष्प्रभावी 



जनकपुरधाम : संघीय प्रहरीको स्थानीय एकाइसँग समन्वय र साझेदारी नहुँदा अपराध न्यूनीकरणमा सघाउ पुर्याउने भनिएको प्रदेश २ को हेलो सिएम एप निस्क्रिय र निष्प्रभावी बनेको छ । सार्वजनिक भएको केही दिन नबित्दै एन्ड्रोइड मोबाइलको प्लेस्टोरबाट हराएको यो एपले महिला हिंसासम्बन्धी हिंसा न्यूनीकरण गर्न मद्दत गर्ने दाबी गरिएको थियो । 

प्रदेश २ प्रहरी कार्यालयद्वारा गत कात्तिक ११ गते आयोजित समुदाय–प्रहरी साझेदारीसम्बन्धी एक कार्यक्रममा एप सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसा न्यूनीकरणमा एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । 

सार्वजनिक भएको चार महिनायता एन्ड्रोइड मोबाइलमा एप डाउनलोड हुने गरेको छैन । मोबाइलको प्लेस्टोरमा देखिने हेलो सिएम एप प्रदेश २ सँग सम्बन्धित छैन । एप सार्वजनिक भएयता प्रदेश २ प्रहरीको नेतृत्व परिवर्तन भएको छैन । एप सार्वजनिक गर्ने कार्यक्रमको अध्यक्षता गरेका प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल अझै उही हैसियतमा कार्यरत छन् । तर, एप सञ्चालनमा नरहेका बेला प्रहरी नायब महानिरीक्षक पालले त्यस एपका बारेका आफूलाई खासै जानकारी नभएको बताए । ‘प्रहरीको कार्यक्रममा मुख्यमन्त्रीले त्यो एप सार्वजनिक गर्नुभएको हो । तर, त्यसको अवस्था र विशेषता के हो भन्ने विषयमा मुख्यमन्त्रीलाई नै सोध्नुस्,’ उनले भने । 

हिंसामा परेका बेला महिलाले एप डाउनलोड भएको मोबाइल तीनपटक हल्लाए त्यो जानकारी नजिकका प्रहरी कार्यालयमा आकस्मिक कलका रूपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एपनिर्माता इन्जिनियर आदित्य राजले जानकारी दिएका थिए । तर, एप सार्वजनिक भएपछि यसको कार्यसञ्चालन प्रणालीका लागि वैधानिक प्रक्रिया तथा पूर्वाधार निर्माण गरिएको बारे कुनै जानकारी दिइएन । सामान्यतया संवेदनशीलता र गोपनीयता कायम गर्नुपर्ने हुँदा प्रहरी क्रियाशील हुने कुनै पनि प्रणाली प्रहरी नियन्त्रित र परिचालित हुने गर्दछ । अरूका साझेदारीमा तयार गरिने सुरक्षा व्यवस्थासमेतलाई आफ्नो स्वामित्वमा लिएर प्रहरीले आफैं सञ्चालन गर्ने गरेको छ ।

सहरका विभिन्न संवेदनशील ठाउँमा राखिएका सिसिटिभी क्यामराले कैद गर्ने दृश्य अनुगमनका लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन् । तर, हेलो सिएम एपका लागि भने त्यस्तो व्यवस्था छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश शाहीले महिला हिंसासम्बन्धी जानकारी फोनमार्फत प्रहरीलाई आउने गरेको भए पनि हेलो सिएमबारे मुख्यमन्त्रीलाई नै सोध्न सुझाए । सार्वजनिक भएका बेला एपबारे ग्रामीण तहमा समेत सचेतना गराउने भनिएको थियो । 

एप प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको सक्रियतामा तयार गरिएको थियो ।  

इन्जिनियर आदित्यले एप निर्माणका लागि आफूले व्यक्तिगत तवरबाट ६ लाख रुपैयाँ खर्च गरेको बताए । उनले कन्ट्रोल रूम निर्माण र प्रहरी जनशक्ति व्यवस्थापन तथा तालिमका लागि प्रदेश सरकारले चासो नलिएकाले एप प्लेस्टोरमा नराखिएको जनाए ।     

प्रतिक्रिया दिनुहोस्