लिम्पियाधुरासहितको भूभाग पर्ने अपि नाम्पा संरक्षण क्षेत्रमा सेना पठाउने विभागको तयारी



काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत पर्ने अपि नाम्पा संरक्षण क्षेत्रमा नेपाली सेना परिचालन गर्ने तयारी थालेको छ । सरकारले हालै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त भूभाग यही आरक्षण भित्र पर्छ ।

उक्त क्षेत्रमा सेना पठाउनेबारे नेपाली सेनाको निकुञ्ज तथा आरक्ष निर्देशनालय लगायतसँग छलफल शुरु भएको विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै कँडेलले त्यहाँ सामरिक हिसाबले पनि महत्वपूर्ण र वन्यजन्तको चोरी सिकारको हिसाबले संवेदनशील भएकाले सेना पठाउनेबारे छलफल शुरु भएको हो ।

विगतका दिनमा वन्यजन्तु संरक्षणसम्बन्धि बैठकमा पनि उक्त क्षेत्रमा सेना पठाउनेबारे छलफल भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ को ख (१) मा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउन सक्ने उल्लेख छ । निकुञ्ज र आरक्षमा अहिलेसम्म करिब ९ हजार सेनालाई संरक्षणका लागि खटाइएको छ । नेपालमा निकुञ्ज, आरक्ष, सिकार आरक्ष र संरक्षण क्षेत्र गरी २० वटा संरक्षण क्षेत्र छन् । त्यसले कुल क्षेत्रफलको २३.३९ प्रतिशत भुभाग ओगटेको छ ।

२०६६ सालको मंसिर १९ मा सगरमाथा आधार शिविरमा माधवकुमार नेपाल नेतृत्वको सरकारका बेला बसेको मन्त्रिपरिषद बैठकले बाँके निकुञ्जसँगै अपि नाम्पा संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेको थियो । यो संरक्षण क्षेत्र १९०३ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । निकुञ्ज ऐनको दफा ३ (१) मा सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना राजपत्रमा प्रकाशित गरी निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र घोषणा गर्नसक्ने व्यवस्था छ ।

दार्चुला जिल्लामा पर्ने अपि नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लास्कु खोला र नौगाड खोला छन् ।
भारत सरकारले अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत मिचेर मानसरोवर जोड्ने सडक शिलान्यास गरेपछि नेपालले मिचिएको उक्त क्षेत्रलाई समेटेर बुधवार मात्र औपचारिक नयाँ नक्सा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्