कौशीमा तरकारी लगाउनेलाई निः शुल्क बीउ र मल



काठमाडौंः ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्र्धन गर्न निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।

सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।

अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए । उनले भने,“ कौशीखेती प्रवद्र्धनमा जोड पुगोस् भन्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको हो ।”

कौशी तथा करेसा या खेतबारीमा तरकारी उत्पादन गरी १० देखि १५ दिनभित्र महानगरवासीले रायो र तोरीको साग नै भए पनि फलाएर भान्छा चलाउन सफल हुन्छन् भन्ने उनको बुझाइ छ ।
बीउ लैजाने किसानको उत्पादनलाई बढवा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ । घर हुने जनताले राम्ररी तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि निः शुल्क पाउने भएका छन् ।

वडा नं १५ मा रहेका लगभग दुई हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको जनाइएको छ । “हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ-आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु”, उनले थपे ।

गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन् । कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धानलगायत तरकारीको बीउबिजन खरिद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन् ।

ललितपुरमा रहेका तीन गाउँपालिका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउबिजन निः शुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्