दुतियाका हत्यारालाई कारबाही माग्दै प्रदर्शन



ढल्केवर : दुतिया रसाइलीका हत्यारालाई कारबाही माग गर्दै शनिबार धनुषाको ढल्केवरमा महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् । ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारवाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले ढल्केवर चोक परिक्रमा गरेका थिए । ओरेक नेपाल धनुषा र महिला सञ्जाल ढल्केवरको आयोजनामा प्रदर्शन गरिएको हो ।

 

ओरेक नेपलाकी प्रतिनिधि बिना कडारीले हत्या भएको तीन दिन बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेकाले दबाबस्वरुप र्‍याली आयोजना गरिएको बताइन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा र मिथिला नरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिइन् । हत्यारा पत्ता नलागेसम्म शान्तिपूर्ण नाराजुलुस गर्दै बन्द हडतालसम्मका कार्यक्रम आयोजना गर्ने उनले बताइन् ।

११ वर्षीया दुतियाको शव मिथिला नगरपालिका वडा नं. ३ मरलाधार मगरटोलनजिक खेतमा बिहीबार जलेको अवस्थामा भेटिएको थियो । प्रहरीले हत्याको कारण र हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्