‘बाराका सिडिओ र सशस्त्र एसपीको सवारी दुर्घटना शंकास्पद’



काठमाडौं : बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारीचालक जगतनारायण राउत कुर्मीले नियोजित रूपमा दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईका परिवारजनले किटानी जाहेरी दिँदै छानबिन माग गरेका हुन् ।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्वपश्चिम राजमार्गको पसाहा पुलनजिक उक्त सवारी दुर्घटना भएको थियो । तत्कमालीन प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिन माग गर्नुपरेको बताए ।

‘उक्त घटना नियोजित रूपमा गराइएको देखिन्छ, त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखि पूर्वसचिवसम्मका उच्चपदस्थ अधिकारीहरू सक्रिय भएपछि हामी झनै आश्चर्यचकित हुन पुगेका छौं,’ उनले भने, ‘घटनाका बारेमा गम्भीर तथा जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका शक्तिशाली व्यक्तिहरू लाग्नुले घटनालाई झन् रहस्यमय बनाएको हो ।’

उनका अनुसार घटना भएको तीन साता पुगिसक्दा पनि सामान्य केरकारबाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन । उक्त घटनामा प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल महाराजगञ्जमा कोमामा छन् । प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन्, उनको होस खुलेको छैन । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।

‘चालक राउतले तीव्र गति (प्रतिघन्टा सय किमिभन्दा माथि) मा सवारीसाधन चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रूपमा ठोकाएको आशंका छ,’ प्रेसविज्ञप्तिमा भनिएको छ, ‘घटना भएलगत्तै चालक कुर्मीले प्रहरीलगायत सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ जबकि चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।’ 

नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिए ।

बारा बह्मपुरीका स्थायी बासिन्दा चालक कुर्मी २३ वर्षदेखि निरन्तर बारा प्रजिअको सवारीचालकका रूपमा कार्यरत रहँदै आएका थिए । बाराको बह्मपुरी गाउँदेखि कलैया, वीरगन्जमामात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा समेत करोडौंको महल बनाएका छन् । ‘आफूलाई स्थायी सिडियो बताउने उनले बिचौलिया भएर गैरकानुनी काम गर्ने गरेको उनीनिकट व्यक्तिहरूले हामीलाई भनिरहेका छन्,’ प्रेसविज्ञप्तिमा भनिएको छ ।

 

चालक कुर्मीले पैसा र उच्चपदस्थ व्यक्तिको आडमा छानबिन प्रभावित बनाउन खोजेको भट्टराई परिवारको आरोप छ ।

‘एउटा चालकले यस्तो घटना गर्ला भनेर सामान्य मान्छेले पनि कल्पना गर्न सक्दैन तर चालक कुर्मीका बारेमा जेजे सुनिन थाले, त्यसले त हामी मात्रै छक्क परेनौं, घटना नियोजित रहेको आशंका बढन थालेको छ,’ भट्टराईले भने, ‘नत्र हामी सामान्य दुर्घटना भनेर उपचारमा व्यस्त थियौं ।’ 

 

प्रतिक्रिया दिनुहोस्