नेपाल आइडलका टप-ट्वान्टीका प्रतिस्पर्धीले ल्याए दसैँ तिहार गीत



काठमाडौँ : सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप-ट्वान्टीसम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दसैँ तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

 

आशिष प्रसाईँले निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दसैँ तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि सशक्त भूमिका निर्वाह गरेका छन् ।

 

गीतको शब्द विक्की महतले लेखका हुन् । गीतको कम्पोज पनि विक्की महतले नै गरेका हुन् । ‘परदेशमा रहेर दसैँ तिहारलाई सम्झिएर शब्द रचना गरेको हो’, उनी भन्छन्, ‘हजारौँको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागि के दसैँ के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यहि कथा भन्छ ।’

 

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् । देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्