विश्वका प्रसिद्ध वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको खोप निकट भविष्यमै असम्भव’



एजेन्सी : ह्युमन इम्युनोडिफिसेन्सी भाइरस (एचआईभी) माथि अनुसन्धान गरेका अमेरिकाका प्रसिद्ध वैज्ञानिकले कोरोना भाइरसविरुद्धको खोप छिट्टै पत्ता लगाउन मुश्किल भएको बताएका छन् ।

वैज्ञानिक विलियम हेसलटाइनले क्यान्सर, एचआईभी जस्ता रोगहरुमा गरेको अनुसन्धान र उपचारको विश्वभर नै निकै चर्चा हुने गर्छ । तर उनले कोरोना भाइरसको उपचारका लागि खोपको विकास हुने सम्भावना निकै कम भएको बताए ।

उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सलाई भनेका छन्, ‘कोरोना भाइरसको खोप निकट भविष्यमा नै पत्ता लाग्न मुश्किल छ । कोरोना भाइरस महामारी रोक्नका लागि संक्रमितहरुको राम्रो हेरचाह गर्नुपर्छ । संक्रमितहरुलाई सही तरिकाले आइसोलेसनमा राख्ने र संक्रमण फैलिनबाट रोक्नुको विकल्प छैन ।’

अमेरिकी सरकारलाई सल्लाह दिँदै उनले खोपको पर्खाइमा बस्नु उचित नभएको बताए । उनले खोप तयार हुने विश्वासमा लकडाउन र प्रतिबन्ध फुकुवा गरेको खण्डमा स्थिती नियन्त्रणबाहिर जान सक्ने पनि चेतावनी दिएका छन् ।

अहिले कोरोना भाइरसविरुद्ध तयार पारिएको भनिएको खोपले नाकमा हुने संक्रमणबाट बचाउन असम्भव भएको छ । जहाँ नाकबाट कोरोना भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना निकै ज्यादा हुन्छ ।

वैज्ञानिक विलियम हेसलटाइनले कुनै औषधि वा खोपविना पनि कोरोना भाइरस नियन्त्रणमा आउने बताएका छन् । उनले यसको लागि संक्रमणलाई सही तरिकाले बुझ्न जरुरी भएको बताए । उनले संक्रमितलाई आइसोलेसनमा राख्नु नै उत्तम उपाय भएको जनाए । साथै, बारम्बार हात साबुन पानीले धुने, मास्क लगाउँने, धेरै प्रयोग हुने सामान र स्थान सफा राख्ने गर्दा कोरोना कम हुँदै जाने हेसलटाइनको विश्वास छ ।

विलियम हेसलटाइनले चीन र अन्य एशियाली देशहरुमा वैकल्पिक रणनीति निकै प्रभावशाली साबित भएको बताए । उनले अमेरिकामा यस्ता रणनीति नपनाउँदा कोरोना भाइरस संक्रमण फैलिएको समेत बताए ।

उनका अनुसार चीन, दक्षिण कोरिया, ताइवान जस्ता देशहरुमा कोरोना भाइरस संक्रमणको दर कम हुँदै गएको कारण उनीहरुले सामाजिक दूरी र आइसोलेसनलाई कडाईका साथ पालन गरे ।

प्रोफेसर विलियमले भने, ‘ कोभिड–१९ को खोप जनावरमा गरिएको परीक्षणमा फोक्सोमा हुने संक्रमणको असर कम हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्