सडकमानव भित्रिए आश्रममा



सुर्खेतः सुर्खेतका विभिन्न सडकपेटी तथा मन्दिरमा मागेर जीवन बिताइरहेकालाई उद्धार गरिएको छ । मानवसेवा आश्रमले शनिबारमात्रै तीनजनाको उद्धार गरी आफ्नो आश्रममा आश्रय दिएको छ । 

सडकपेटीको अवस्था अवलोकन गरी देउतीबज्यै परिसरमा आउने भक्तजनबाट सहयोगको याचना गरिरहेका तीनजनालाई उद्धार गरी आश्रममा ल्याइएको आश्रम शाखा सुर्खेतकी संयोजक सृजना ओलीले जानकारी दिइन् । 

यस्तै, ऐरिचोक क्षेत्रबाट दुईजना मानसिक सन्तुलन गुमाएका सडक मानवलाई पनि उद्धार गरी आश्रममा ल्याइएको ओलीले बताइन् । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी उनीहरूको उद्धार गरेर आश्रममा पुर्‍याइएको थियो । उनीहरूको आइतबार चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई आश्रममा व्यवस्थित रूपमा बसाइने आश्रमले जनाएको छ ।

भर्खरैमात्र खुलेको आश्रमले यसअघि उद्धार गरिएकामध्ये दुईजनालाई परिवारसँग पुनर्मिलनसमेत गराएको जानकारी दिएको छ । दुई साताको अवधिमा नौजनाको सडकपेटी र मन्दिरबाट उद्धार गरिएको संयोजक ओलीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्