महिला मृत फेला, हत्या आशंकामा युवक पक्राउ



खोटङः खोटेहाङ गाउँपालिका-५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छिन् ।

दुई छोरीको विवाह भइसकेको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी उनको शव आज बिहान घाँटीको-दायाँ भागमा सामान्य चोट लागेको अवस्थामा शव फेला परेका हो ।

उनको हत्या आशंकामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।

उनले भने,“एकल महिलाको गए राति १०ः०० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, पक्राउ परेका मुकेशले प्रहरी सामु ‘मान्छे मारेर आएको’ भनेका छन् ।”
महिलाको हत्यापछि आज बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि वडा सदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेकी थिइन् । उनको हत्याको कारण खुल्न बाँकी रहेकोले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्