प्रदेश सरकार समानतापथमा अग्रसर छ : राउत



जलेश्वर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धिका लागि हरेक वर्ग, जातधर्म र तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल महोत्तरीद्वारा शनिबार जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समाजमा समानताको अनुभूति नभएसम्म समृद्धिको आकांक्षा स्वप्नमात्र हुने भएकाले प्रदेश सरकार समानतापथमा अगाडि बढेको दाबी गरे । 

विभेदमा परेका मधेसी, महिला, मुस्लिम, आदिवासी, जनजातिलगायतलाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रदेश २ सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले बताए । मुख्यमन्त्री राउतले बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, दलित सशक्तीकरण ऐन, मद्रसा शिक्षा बोर्डजस्ता प्रदेश सरकारका कार्यक्रमबारे चर्चा गर्दै ती कार्यक्रमले समाजमा समानता ल्याउने विश्वास व्यक्त गरे । 

फोरम उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले समानता र समावेशिताको सबालमा पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गरे । 

पार्टीका महोत्तरी अध्यक्ष रामनरेश रायको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी राजनीतिक समिति सदस्य हरिनारायण यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, प्रदेशसभा सदस्य कौशलकुमार यादव, पार्टीका केन्द्रिय सदस्य नागेन्द्र यादव, रामदरेश यादव, डा. रामवीर यादवलगायतले आआफ्ना धारणा राखे । 

कार्यक्रममा तत्कालीन फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सुरेश साहको नेतृत्वमा करिब पाँच सय नेताकार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्