प्रदेश १ का २७ बसपार्कमा सरसफाइ



विराटनगर : मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसी शनिबार बिहान हातमा झाडु बोकेर विराटनगर बसपार्कमा निस्किए । बसपार्क सरसफाइमा निस्किएका उनी सरसफाइकर्मीसँगै फोहोर सङ्कलनमा खटिए । 

बसपार्कमा थुप्रिएका फोहोर सङ्कलनमा एक घण्टा समय खर्चिएका उनलाई अन्य प्रहरी र नागरिकले पनि साथ दिएका थिए । एसपी केसी मात्रै हैन बसपार्क सरसफाइ गर्न र त्यहाँ थुप्रिएको फोहोर सङ्कलन गर्न ठूलो सङ्ख्यामा प्रहरी र सर्वसाधारण भेला भएका थिए । 

उनीहरूले एक घण्टा लगाएर विराटनगर बसपार्कलाई सफा बनाए । 

विराटनगरसहित प्रदेश १ का १४ वटै जिल्लाका बसपार्कहरूमा शनिबार सरसफाइ गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नेपाल प्रहरी, विभिन्न संघ संस्था, सरसफाइसँग सम्बन्धित क्लब र आमा समूहको सक्रियतामा प्रदेश भरीका बसपार्क सरसफाइ गरिएको हो । 

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविराज पौडेलले मोरङका तीन, सुनसरीका  तीन, झापाका चार, धनकुटाका तीन, इलामका तीन, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु समेतका जिल्लाका बसपार्क सफा गरिएको जानकारी दिए । 

यात्रु र सवारी साधनको चाप अत्यधिक हुने सबै बसपार्कहरूमा जथाभाबी फोहोर नफ्याँक्नका लागि अनुरोध गरिएका सन्देशमूलक सामग्रीहरू समेत राखिएको एसपी पौडेलले बताए । 

बसपार्कमा जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवानाको नियम पनि लागू गरिएको छ । त्यसको कार्यान्वयन र अनुगमनको जिम्मा स्थानीय तहले ट्राफिक प्रहरीलाई दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्