सुर्खेतमा कर्णाली महोत्सव सुरु



सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली महोत्सव–२०७५ सुरु भएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा शनिबारदेखि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको हो । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महोत्सवको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले विभिन्न समयमा हुने महोत्सवले आर्थिक र सांस्कृतिक क्रियाकलापको चहलपहल बढाउने बताए । 

प्रदेश सरकारले अघि सारेको ‘कर्णाली रारा पर्यटन वर्ष’लाई समेत महोत्सवले सहयोग पुर्‍याउने मन्त्री ज्वालाले उल्लेख गरे । 

शक्रबारदेखि सुरु हुने भनेपनि दिनभर वर्षा भएपछि शनिबारदेखि महाेत्सव सुरु गरिएको सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए । 

फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० स्टल छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सव अवधिभर झन्डै दुई लाख दर्शकहरूले अवलोकन गर्ने र १० करोडको कारोबार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्