साेलुखुम्बुमा शिक्षकद्वारा ९ वर्षीया बालिका बलात्कृत



काठमाडौं–  देसैभरि बालिका बलात्कारका घटना बढिरहेकाे छ । फेरि धनुषामा भएकाे बालिका बलात्कारकाे घटना सेलाउन नपाउँदै साेलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा पनि एक बालिका बलात्कृत भएकी छन् । एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्। 

 

पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्ने ५५ वर्षीय शिक्षक मोहन घिमिरेले शुक्रबार बिहान ९ बजे ९ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

 

हिमालयन प्रावि नाम्चेमा नेपाली पढाउने शिक्षक घिमिरेले मद्यपान गरी आफ्नै विद्यार्थीलाई बलात्कार गरेका हुन्। वडा नम्बर ५ का वडाध्यक्ष छिरिङ फिनजो शेर्पाले भने, ‘शिक्षक घिमिरेले रक्सी खाएर बलात्कारको प्रयास गरेको पाइयो।

 

हामीले पक्राउ गर्दा रक्सी गन्हाइरहेको थियो।’ बलात्कारको उजुरी परेपछि शनिबार प्रहरीले उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ।

यसरी भयोकाे थियाे घटना

मोरङ स्थायी घर भएका घिमिरे सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका थिए। उनी हिमालयन प्राविका स्थायी शिक्षक हुन्। एक दशकअघिदेखि उनले उक्त स्कूलमा अध्यापन गराउँदै आएका थिए। अघिपछि सामान्य अवस्थामै रहने गरेका घिमिरे रक्सी भने नियमित नै खाने गरेको वडाध्यक्ष शेर्पाले बताए। सधैंजस्तै गएको बिहीबार बेलुका पनि घिमिरे रक्सी र मासु खाएर सुतेका थिए।

 

बेलुकाको मासु रहेपछि उनले पीडित बालिकाकी आमालाई मासु रहेकाले लिन आउन भनेका थिए। आमाले आफ्नी ९ वर्षीया छोरीलाई शिक्षकको डेरामा मासु लिन पठाइन्। प्रहरी स्रोतका अनुसार झन्डै आधा घन्टासम्म पनि छोरी नआएपछि आमा शिक्षकको कोठामा पुगेकी थिइन्। घर पुग्दा बालिकाकी आमाले शिक्षकलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

‘पीडित बालिकाको कपडा खोलिएको अवस्थामा फेला परेको भन्दै उजुरी आएको छ। शिक्षक घिमिरे पनि अर्धनग्न अवस्थामा फेला परेका थिए।’, प्रहरी स्रोतले भन्यो। शिक्षक घिमिरेले रक्सी खाएको मातमा यस्तो कार्य हुन गएको भन्दै गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

बलात्कारको आरोप लागेका ५५ वर्षीय शिक्षक घिमिरेलाई प्रहरीले सदरमुकाम सल्लेरीस्थित जिल्ला पह्री कार्यालय लगेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस्