बलात्कार आरोपमा प्रहरीका सई पक्राउ



मुगु : महिला बलात्कार आरोपमा मुगुमा नेपाल प्रहरीका एक सहायक प्रहरी निरीक्षक पक्राउ परेका छन् । शुक्रबार साँझ सापटी लिएको रकम लिन बोलाएको र रकम लिन गएकी महिलालाई जर्बजस्ति करणी गरेको आरोपमा प्रहरी चौकी चैना मुगुमा कार्यरत सई सूर्यबहादुर शाही पक्राउ परेका हुन् । 

    

उनले छायानाथ रारा नगरपालिका–५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलालाई केही दिन अगाडि सापटी लिएको रकम लिन बोलाएको र साँझ करिब ६ बजे चैन खोलामा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । 

शुक्रबार साँझ शाहीले फोन गरी आफ्नो सरुवा भएकाले पैसा लिन आउन भने पछि गएको बेला चैन खोलामा बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । 

प्रहरीले आरोपित शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर आफूले लगातार दबाब दिए पछि पक्राउ गरेको पीडित महिलाकी श्रीमानले बताए । जिल्ला प्रहरी कार्यालय भित्रै आरोपित शाहीले आफूलाई धम्क्याएको उनको गुनासा छ । 

 

आरोपित र पीडित दुवै जनाको शुक्रबार राति नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्