लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित



काठमाडौं : नेपाल–भारत सीमामा रहेको नेपालको भूभाग लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ ।

शुक्रबार लिम्पियाधुरासहित नयाँ नक्सा राजपत्रमा प्रकाशित गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पठाएको थियो ।

मन्त्रालयले पठाएलगत्तै मुद्रण विभागले उक्त नयाँ नक्सा राजपत्रमा प्रकाशित गरेको हो । नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव केदार न्यौपानेको हस्ताक्षर भएको उक्त नयाँ नक्सा अब लागू भएको छ ।

गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै जेठ ७ गते नयाँ नक्सा आधिकारिक रुपमा सार्वजनिक भएको थियो ।

नेपालले पहिलोपटक आफै तयार गरेको नक्सामा लामो सयमदेखि भारतले कब्जा गर्दै आएको गुन्जी, कुटी, नाभी सहित लिम्पियाधुरा समावेश गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रवक्ता जनकराज जोशीका अनुसार भूमि राजपत्रमा प्रकाशित भएपछि अब यो नक्सा आम सर्वसाधारणले प्रयोग गर्न पाउनेछन् ।

उनका अनुसार नयाँ नक्सा छापिएको राजपत्र अब सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने छ। नयाँ नक्सा भएकोले राज्यका सबै निकायलाई औपचारिक रूपमा जानकारी दिन राजपत्रमा प्रकाशन गरी पठाउन लागिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्