फेरि ९ जनामा भेटियो कोरोना, संक्रमितको संख्या ५१६



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण थप ९ जनामा पुष्टि भएको जानकारी दिएको छ ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर जिल्लाको हेटौंडा–३ की ५४ वर्षीया महिला र भक्तपुर–९ की ४२ वर्षीया महिलामा कोरोना पोजेजिभ भएको पुष्टि भएको हो ।

त्यस्तै, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारा सिमरनगढ नगरपालिकाका २२,२७,३०,३४,३८ र ४५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको डा. अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्