भ्रष्टाचार गरेको अभियोगमा पाँच सैनिक अधिकारीलाई कारबाही



काठमाडौं : सैनिक अदालतले अनियमितता गरेको अभियोगमा पाँच जना सैनिकहरु अधिकारीलाई कारबाही गरेको छ ।

शुक्रबार सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक चलखेल गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो ।

उनीहरु भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहर भएका थिए ।

सैनिक कल्याणकारी कोषबाट सञ्चालित उक्त महाविद्यालयमा तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकले अनियमितता गरेको समरी जनरल सैनिक अदालतले ठहर गरी कारबाही गरेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाडौंले जानकारी दिएको छ ।

अदालतले महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देवबहादुर क्षेत्री, हुद्दा यज्ञराज पोखरेल, अर्का हुद्दा गणेशबहादुर अधिकारी र लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीमाथि कारबाही गरेको हो ।

महासेनानी भुपालमान अधिकारीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ बिगो असुल्ने निर्णय गरेको हो । साथै उनलाई दुई वर्ष कैद गर्ने निर्णय पनि भएको छ । अनि भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय पनि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनीमाथि आर्थिक अनियमितता गरी गैरकानुनी रुपमा आर्थिक उपार्जन गरेर लिए÷खाएको आरोप थियो ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीमाथि दुई वर्ष बढुवा रोक्का गर्ने अनि चार लाख ४० हजार रुपैयाँ असुल्ने निर्णय भएको छ । हुद्दा यज्ञराज पोखरेलबाट तीन लाख ६० हजार असुल्ने अनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय पनि भएको छ ।

अर्का हुद्दा गणेशबहादुर अधिकारीको दुई वर्ष तलब वृद्धि रोक्ने फैसला भएको छ । उनीबाट १० हजार असुल्ने फैसला सैनिक जनरल समरी अदालतले गरेको छ । लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत दिने निर्णय भएको छ । आर्थिक अनियमितताको आरोपमा मुछिएका अरु १३ जनाले सफाई पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्