भक्तपुरकी कोरोना संक्रमित महिला वडा नं. ९ की सदस्य



भक्तपुर : हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको भक्तपुरकी महिला वडा सदस्य रहेको खुलेको छ । भक्तपुरकी ४२ वर्षीया महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको हो ।

उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार आज (शनिबार) बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने काम शुरु भएको छ । संक्रमित महिलाको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुने उनले बताए ।

उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।

यीसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय १६ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्