पोखरीमा विष, १० लाख मूल्यबराबरको माछा मरे 



सिरहा : सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरीस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब १० लाख मूल्यबराबरको माछा मरेका छन् । मल्हनियाँ खोरीस्थित १४ कट्ठा क्षेत्रफलमा रहेको निमावि पोखरीमा शुक्रबार राति करिब १२ बजेको समयमा अज्ञात समूहले विष राखिदिएपछि विभिन्न सात प्रजातिका तयारी अवस्थामा रहेका माछा मरेपछि ठूलो क्षति पुगेको हो । 

मिर्चैया–१ का माछा व्यवसायी शिवनारायण श्रेष्ठले ठेक्का लिएर सञ्चालन गरेको माछापालनका रहु, कोमन, नैनी, सिल्वर, बिगेट, ग्राँस र पोठीलगायत प्रजातिका माछा मरेको मिर्चैया नगरपालिका वडा नं २ का अध्यक्ष लक्ष्मेश्वर कापरले जानकारी दिए । 

डाहा वा व्यक्तिगत रिसइबीका कारण कसैले पोखरीमा विष हालेको आशंका छ । मिर्चैया नगरपालिकाको मातहतमा रहेको उक्त पोखरीमा माछा व्यवसायी श्रेष्ठले तीन वर्षको ठेक्का लिएर माछापालन गर्दै आएका थिए । माछापालन सञ्चालन गरिएको एक वर्ष नबित्दै यस्तो घटना भएको हो ।

स्वदेशमै मिहिनेत गरेर आयआर्जन गर्न चाहनेको मनोबल गिराउन खोज्ने यस्ता घटनाका दोषी पहिचानगरी कडा कारबाही गर्न वडाध्यक्ष कापरले माग गरेका छन् ।

मिर्चैया प्रहरीले अपराधी पत्ता लगाई दोषीलाई कारबाही गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्