नाबालिग नातिसहित चर्पीमा बसिरहेकी वृद्धालाई सहयोग



म्याग्दी : बुवाआमा दुवैले दोस्रो विवाह गरेर गएपछि हजुरआमा ७५ वर्षीया जमुना परियारसँग चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएका दुई भाइलाई शनिबार बेनी नगरपालिका–२ भकुण्डेका भीमबहादुर पौडेलले खाद्यान्न, स्टेसनरी र खाजा सहयोग गरेका छन् । 

छोराबुहारीले छाडेर गएपछि बालुवा चालेर र अन्य ज्यालामजदुरी गरेर नातिहरूलाई पाल्दै आएकी परियार नातिहरूसहित बेनी नगरपालिका–२ बगरफाँटको सरस्वती आधारभूत विद्यालयको शौचालय प्रयोजनका लागि बनाइएको छाप्रोमा बस्दै आएको समाचार द नेपालटप डटकमलगायतका सञ्चारमाध्यममार्फत थाहा पाएपछि पौडेलले ४ हजार रुपैयाँबराबरको खाद्यान्न र स्टेसनरी तथा खाजाका लागि बिस्कुट सहयोग गरेका हुन् ।

समाचार पढेर र सुनेर पौडेले सहयोग गरेका हुन् । परियार परिवारको बिचल्लीसम्बन्धी समाचार प्रकाशन तथा प्रसारणपछि विभिन्न व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार भकुण्डेबाट विद्यालयमा नै आएर पौडलले एक बोरा चामल, आलु, दाल, नुन, कापी, कलम र बिस्कुटलगायत सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की, स्थानीय बुद्धिजीवीहरू कृष्णबहादुर कार्की, भीमबहादुर रिजाल, खगराज निउरे, विष्णुप्रसाद शर्मा, खिमबहादुर कार्की, कृष्णप्रसाद रिजाल, गणेश घिमिरेलगायतका रोहबरमा परियारलाई प्रदान गरेका हुन् ।

 बुबाआमा दुवैले दोस्रो विवाह गरेर बेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षीय एनोस र ७ वर्षीय सिमसन दुई वर्षदेखि हजुरआमा जमुनासँगै कष्टकर जीवन बिताउँदै आएका छन् । 

मंसिरअघिसम्म बेनीबजारमा कोठा भाडामा लिएर बालुवा चाल्नेलगायत ज्यालामजदुरी गरेर नातिहरूलाई पाल्दै आएकी जमुना कोठा भाडा तिर्ने पैसा नभएपछि त्यसयता सरस्वती आधारभूत विद्यालयमा चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएकी छिन् ।

  

 

प्रतिक्रिया दिनुहोस्