वडा अध्यक्ष सुहाङले कांग्रेस प्रतिनिधिलाई दलित भन्दै बैठकबाट बाहिर निकालेपछि…



पाँचथरः पाँचथरको हिलिहाङ गाउँपालिका ५ का वडा अध्यक्ष लक्ष्मी सुहाङले एक युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालेका छन् ।

वडा कार्यालयले बोलाएको बैठकमा सहभागी हुन पुगेका कांग्रेस प्रतिनिधि स्थानीय बीरबहादुर उभरकोटीलाई उनले अपमानपूर्ण ढंगले बैठक कक्षबाट निकालेका हुन् ।

आफुले बोलाएको भन्दा अरु नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएकोमा उनले आक्रोस व्यक्त गरे ।

जेठमा वडा कार्यालयको भवन बनाउने बिषयमा सर्वपक्षिय छलफल आयोजना गरेको थियो । छलफलका लागि कांग्रेसको वडा कार्य समितका सचिवसमेत रहेका उभरकोटी बैठकमा सहभागी हुन पुगेका थिए ।

‘यो मान्छेलाई मैले बोलाएको छैन, यसलाई म मिटिङमा बस्नै दिन्न’ भन्दै जातीय रुपमा विभेद गर्दै बैठकबाट अध्यक्ष सुहाङले निकालेको पीडत उभरकोटीको भनाई छ । उभरकोटीले दलित युवालाई बैठकबाट बाहिर निकाल्दा बैठकमा सहभागी अन्यले कुनै प्रतिवाद नगरे बताएका छन् ।
वडाध्यक्षले दलित युवालाई गाली गर्दै बाहिर निकालेको भिडियो सार्वजानीक भएको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष सुहाङले आफूले अरुबेला पनि त्यस्तै गर्ने गरेको बताए । उनी नेकपाबाट निर्वाचित हुन् ।

कांग्रेसका वडा सभापति देवि योङहाङले पार्टीले आधिकारीक प्रतिनिधि पठाएको ब्यक्तिलाई वडा अध्यक्षले दलित भन्दै अपशब्द प्रयोग गरेर बैठकबाट निकालेकोमा खेद प्रकट गरेको छ । घटनापछि कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रवार वडा कार्यालयमा निवेदन दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्