कांग्रेस सभापति शेरबहादुरलाई ‘संस्कारी’ बन्न आग्रह 



वीरगन्ज: कांग्रेस राजनीतिमा परम्परागत पारिवारिक प्रभाव कायम राखिरह्न केही समययता भरमग्दुर प्रयत्न गरिरहेका तीन कोइराला शनिबार पर्सा पुगे । लामो समयपछि पार्टीमा गैरसंस्थापन कित्तामा पुगेको कोइराला परिवारका शेखर, शशांक र सुजाता यहाँ कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका नाममा स्थापित जिपी कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी भए । उनीहरूले देशमा विद्यमान गैरकांग्रेसी शक्तिशाली सरकारको आलोचनामात्र गरेनन्, कांग्रेसभित्र शुद्धीकरणको प्रसंग पनि तेर्साए । 

फाउन्डेसनको पर्सा एकाइद्वारा आयोजित फोटो प्रदर्शनी तथा विचारगोष्ठीमा तीनैजना कोइरालाले सामूहिक रूपमा एक सय २१ किलोको गह्रुँगो मालाबाट स्वागतग्रहण गरे । प्रत्युत्तरमा कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालाले सरकारको एकवर्षे कार्यकालको उपलब्धि शून्य रहेको टिप्पणी गरे । उनले सरकारले जनहितमा एउटा पनि काम गर्न नसकेको आरोप लगाए । 

‘रेल र पानीजहाज कार्यालय उद्घाटन त भए तर रेल र पानीजहाज किन्न कोसँग ऋण माग्ने ?,’ उनले भने, ‘यी जम्मै मनगढन्त कुरा मात्र हुन् ।’ उनले कांग्रेसले अबको चुनावमा कम्युनिस्ट सरकारलाई मुहतोड जबाफ दिनुपर्ने बताए । सरकारका कमजोरी जनतामाझ लैजानुपर्ने र सँसँगै कांग्रेसभित्रका कमजोरीलाई पार्टी नेतृत्वले सुधार्नुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो । 

पार्टी केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसको इतिहास मेटाउन खोज्ने शक्ति आफै समाप्त भएर जाने चेतावनी दिँदै ओली सरकारले नै संघीयतालाइ धरापमा पारेको आरोप लगाए । उनले ओली सरकारको एकवर्षे कार्यकालमा प्रधानमन्त्री र राष्ट्रपतिका लागि मात्र गणतन्त्र आएको भन्दै व्यंग्य गरे ।

मुलुक संघीय संरचनामा गइसकेको भए पनि संघीय सरकारले प्रदेश सरकारका सबै अधिकार आफैमा निहित राखेको भन्दै उनले प्रधानमन्त्रीका सामु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका निरीह बनेको बताए । सबै शक्ति प्रधानमन्त्रीमै निहित हुनेगरी सरकार अराजक र सर्वसत्तावादी बनेको आरोप उनले लगाए । धरापमा परेको संघीयता कांग्रेसले मात्र जोगाउन सक्ने उनले जिकिर गरे । 

कांग्रेसका अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि दुईतिहाइको दम्भमा रहेको ओली सरकारले जनताका लागि काम गर्न नसकेको आरोप लगाइन् । उनले ओली सरकारलाई कांग्रेसले छिट्टै जबाफ दिने चेतावनी दिइन् ।  फाउन्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी सुजाताले कांग्रेसमा कोइराला परिवार एकजुट भएको बताइन् । 

उनले भनिन्,  ‘हामी तीन कोइराला एक छौं, भन्नेहरूले कोइराला परिवारका सदस्य मिलेका छैनन् भन्छन्, तर तिनीहरूले टाउको दुखाउनु पर्दैन किनकि हामी एक छौं ।’  पार्टी सभापति देउवातर्फ लक्षित गर्दै सुजाताले भाषणले मात्र नेता बन्न नसकिने बताइन्  । ‘भाषणले मात्र हुँदैन काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ,’ उनले भनिन्, ‘काग्रेसभित्रको विवाद अन्त्य भएपछि मात्र कांग्रेस बलियो हुन्छ र लोकतन्त्र पनि बलियो हुन्छ ।’ 

तीनै कोइरालाले पार्टीभित्र गुटउपगुट मौलाएको र नेतृत्वमा राजनीतिक संस्कार ह्रास हुदै गएकाले कांग्रेस कमजोर बनेको आरोप लगाए ।  

फाउन्डेसन पर्सा अध्यक्ष मोहम्मद शाहबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्रीहरू सुरेन्द्रप्रसाद चौधरी,  आफताब आलम, कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेशसभा सदस्यहरू शंकर चौधरी, ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, पूर्वसांसदहरू राजेन्द्रबहादुर अमात्य, अनिल रुंगटा, रामेश्वर रौनियार, नेताहरू जनार्दनसिंह क्षेत्री, वीरेन्द्रलाल नेपालीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्