सरकारको दबाबपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’



काठमाडौं : सरकार, नेता र कर्मचारीहरूलाई व्यग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ ।

गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीविरुद्ध धम्की दिएर वक्तब्य निकालिएको थियो ।

कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।

शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् । शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

यस्तो छ पशुपति शर्माको स्टाटस

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा


के थियो गीतमा ?

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही…त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।

शुक्रबार मात्रै अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको प्रमाण सार्वजनिक भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । कतिपयले नेताहरुकै सुझावमा कारबाहीबाट बच्न पाठकले राजीनामा दिएको भन्दै आलोचना समेत गरिरहेका छन् ।

शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गत विहीबारबाट बजारमा आएको उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्