ईद पर्व मनाउन १०१ परिवारलाई चेम्बरको राहत



जनकपुरधामः मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईदु उल फित्रको अवसरमा लकडाउनलाई मध्यनजर गर्दै धनुषा चेम्बर अफ कमर्सले १ सय १ अति विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

ईद पर्व मनाउन कमर्सले उनीहरूलाई सर्ट, लुंगी,साड़ी,सेबई, चिनी लगायतका सामानहरु उपलब्ध गराएको धनुषा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको प्रमुख आतिथ्यमा मुस्लिम समुदायका १ सय १ अति विपन्न परिवारहरुलाई बोलाएर ईद पर्व मनाउन उक्त सामग्रीहरु वितरण गरिएको उनले बताए ।

कोरोनाको त्रासका कारण सबैजना भित्रदेखि डराएको अबस्थालाई समेत दृष्टिगत गर्दै सामाजिक दूरि कायम गरि जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष जानकीराम साहले वितरणस्थलमा स्वास्थ्य जाँचको समेत व्यवस्थापन मिलाएका थिए ।

राहत सामानहरु जसपाका केन्द्रिय सदस्य हकिम राइन,समीर सुपर मार्केट पिराड़ीका प्रोपराइटर हसन साफी र धनुषा चेम्बरका अध्यक्ष विजय साहले उपलब्ध गराई सहयोग गरेका थिए ।
लकडाउनको प्रारम्भिक समयदेखि नै धनुषा चेम्बर अफ कमर्सले राहत वितरण,स्वास्थ्य सामग्री वितरण लगायतका कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आईरहेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत,सशस्त्र प्रहरी प्रमुख राजेश उप्रेती लगायतका व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्