शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना पुष्टि



काठमाडौं : काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर घर भएकी ५४ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

त्रिवि अस्पतालमा उपचाररत महिलामा शुक्रबार कोरोना पुष्टि भएपछि उनलाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको अस्पतालले जनाएको छ ।

मुुटु रोगको बिरामी ती महिलालाई हेटौँडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासका अनुसार उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनलाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको छ । तर, महिलाको संक्रमण स्रोत भने खुलेको छैन ।

संक्रमित महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको छ । काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्