सार्क सदस्य मुलुकमा दूतावास स्थापना गर्ने योजना कार्यान्वयन भएन



काठमाडौं : सार्क सदस्य मुलुकले एकअर्कामा दूतावास स्थापना गर्ने योजना बनाए पनि कार्यान्वयन भएको छैन। दूतावास स्थापनाका लागि ०७२ चैतमा सबै मुलुकका कर्मचारीस्तरमा अनौपचारिक सहमति भएको थियो।

यस विषयमा राजनीतिक तहलाई सहमत गराउने विषय पनि टुंगिएको थियो। ०७१ मंसिरमा सम्पन्न १८ औं शिखर सम्मेलनको फलो अप ३७ औं विदेश मन्त्रीस्तरीय बैठकका सन्दर्भमा पोखरामा परराष्ट्र सचिवबीच दूतावास राख्ने सहमति भएको हो।

मन्त्रीस्तरीय बैठक सकिएपछि साइडलाइनमा सचिवहरूले सार्कभित्रको कूटनीतिक अन्तक्र्रियालाई निकट पार्न सबैको दूतावास सबै देशमा चाहिने सहमत भएका थिए। सार्कको अध्यक्षता गरिरहेको नेपालले दूतावासका लागि पहल गरिरहेको छ।

सार्कको मुख्यालय काठमाडौंमा रहेकाले सबै सदस्य मुलुकको दूतावास काठमाडौंमा राख्न नेपालको पहलमा सदस्य राष्ट्रले सकारात्मक जवाफ दिएका थिए भन्ने खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।

सार्कका यसअघिका शिखर सम्मेलनमा पनि काठमाडौंमा सार्क सदस्यका दूतावास राख्न विषयले स्थान पाएको थियो। सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। काठमाडौंमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको मात्र दूतावास छ।

माल्दिभ्स, भुटान र अफगानिस्तानको दूतावासका लागि नेपालले पहल गरिरहेको छ। माल्दिभ्सले एकअर्का मुलुकमा दूतावास राख्ने गरी सहमति गरिसकेको परराष्ट्र उच्च स्रोतले बताएको छ। माल्दिभ्समा ५ हजारभन्दा बढी नेपाली पानीजहाज, होटल र रिसोर्टमा काम गर्छन्।

तीन महिनाअघि काठमाडौं आउँदा नेपालका लागि माल्दिभ्सका गैरआवासीय राजदूत अहमद सलिमले नेपालमा दूतावास स्थापनाका लागि आफूले पहल गरिरहेको बताएका थिए। ‘दूतावासका लागि द्विपक्षीय पहल भइरहेको छ।

एकअर्का मुलुकमा दूतावास राख्ने नीति तथा नेपाल–माल्दिभ्स अन्तरक्रिया बढेकाले दूतावास आवश्यक छ’, उनले भनेका थिए। सार्क महासचिवसमेत रहिसकेका उनी कार्यकाल सकेर फर्केलगत्तै पाकिस्तानका लागि राजदूत नियुक्त भए। माल्दिभ्सको दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ।

सलिम पाकिस्तानका लागि राजदूत भएलगत्तै माल्दिभ्सले उनलाई नेपालसमेत हेर्ने जिम्मेवारी दिएको छ। उनी सार्क मुलुकको एकअर्कामा दूतावास स्थापना हुनुपर्ने लबिङमा छन्। ‘सार्कको राजधानी काठमाडौं हो। सार्कलाई बलियो बनाउन सबै मुलुकको दूतावास काठमाडौंमा राख्नुपर्छ’, उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्