छाेराबुहारीसँग बसिखानु नभएपछि ७१ वर्षमा अर्काे बिहे



दाङ : यहाँको घोराही उपमहानगरपालिका–१० लमडरुवा डाबरस्थित ऐलानी बस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको निकै मार्मिक कथा छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको बुढेसकालमा यही सीप नै सहारा बनेको छ । अहिले पनि उनी दैनिक तीनवटा जति सुपा बुन्छिन्, आफू र श्रीमान्को जोहो यसैबाट चलेको छ । ‘यत्ति त होइन, सानो श्रीमान्को   पसल पनि छ’ –आफ्नै सीप र श्रमको त्यति बढाइचढाइ गरेको मन पर्दैन उनलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको गाउँमै सानैमा विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । 

श्रीमान् रहँदासम्म राम्रै थियो उनको परिवार तर श्रीमान् बितेपछि छोराबुहारीबाट सम्मान पाउन सकिनन् । ‘बुढा त बितिगए, छोराबुहारीले राम्रै व्यवहार गर्लान् भनेर बाह्र वर्षसम्म बसें’, उनी विगत सम्झिन्छिन्, ‘तर, पछिपछि त छोराबुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै साविक सैघाकै श्रीमती बितेका एक वृद्ध भेटिन् उनले । ‘उहाँको पनि श्रीमती बितेको दुईवर्ष भएको रहेछ, म पनि बाह्र वर्षदेखि छोराछोरीको पिटाइ खाँदाखाँदा हुक्क भइसकेकी थिएँ’, ७१ वर्षको उमेरमा नयाँ घरवार बसाउनुको कारण खोल्दै उनले भनिन्, ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्