सीसी क्यामेराले अपराधी समात्न प्रहरी सफल 



काठमाडौं :  काठमाडौंको डल्लु आवासक्षेत्रमा २०७१ सालमा भएको हत्या घटनामा संलग्न एक व्यक्ति लामो समयको अनुसन्धानपछि सीसी (टीभी) क्यामेराको सहयोगमा पक्राउ पर्न सफल भए ।

त्यस्तैं, सीसी क्यामेरामा कैद भएको फुटेजकै सहयोगमा २०७२ सालतिर बिजुलीबजारमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकलाई ठक्कर दिई फरार ट्याक्सी चालक पक्राउ परेका थिए । सो घटनामा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सीसी क्यामेराको सहयोगबाट नै आर्थिक वर्ष २०७४/७५ मा विभिन्न ट्याक्सीमा छुटेको करीब ४२ लाख ११ हजार रुपैयाँ नगद सम्बन्धित ब्यक्तिलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार उल्लेखित घटनाहरू सीसीटीभी प्रयोगबाट प्राप्त सफलताका केही प्रतिनिधि उदाहरण मात्र हुन् । काठमाडौं उपत्यकाको शान्तिसुरक्षाका लागि सीसी क्यामेराहरु विश्वासिलो र भरपर्दो सहयोगी प्रविधि बन्ने गरेका छन् ।

अपराध रोकथाम तथा नियन्त्रण र अपराधको सफल अनुसन्धानमा सीसीक्यामेरा प्रविधि दिन प्रतिदिन प्रभावकारी बन्दै गएको छ । यस प्रविधिलाई थप प्रभावकारी बनाउन परिमार्जन र परिस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सीसीटीभी ‘भिजुअल’ (दृश्य) प्रविधि हो । यसै प्रविधिलाई परिस्कृत गर्दै प्रहरीले ‘र्यापिड’ सूचना प्रणाली तथा ड्रोन क्यामेराको समेत प्रयोग गर्न थालेको छ । प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक डा. राजीव सुब्वाले भने, ‘अपराधको रोकथाम, नियन्त्रण र अपराधको सफल अनुसन्धानमा यो प्रविधि प्रभावकारी छ ।’

शान्तिसुरक्षा तथा अपराध नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन र अपराध अनुसन्धानलाई आधुनिकीकरण गर्न ‘भिजुअल’ प्रविधि प्रयोग बढाउन सरकार तथा प्रहरी सङ्गठनको प्राथामिकता हो, उनले थपे ।यो प्रविधिले प्रहरीलाई क्षितिजभन्दा टाढा पनि कमान्ड गर्न सक्ने क्षमता प्रदान गर्ने विश्वास दिलाउँदै उनले ‘एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज सेयर गर्न सकिने बताए । त्यस्तैं, विपद तथा आपतकालीन अवस्थामा अन्य सञ्चारमाध्यममा सम्पर्कविहीन भएमा पनि यो प्रविधिले प्रभावकारी ढंगले काम गर्छ ।

उनका अनुसार, आपतकालीन अवस्थामा पनि १५ मिनेटमै यस किसिमको प्रविधि जडान गरी सञ्चालन गर्न सकिन्छ । अति विशिष्ट, विशिष्ट व्यक्ति लगायतको सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा सुब्वा भन्छन्, ‘नेपाल प्रहरीमा हाल ५० सेट र्यापिड सहितको प्रविधि प्रयोगमा आएको छ ।’

कुनै पनि घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि सातवटै प्रदेशमा प्रयोग गर्ने तयारी भइरहेको प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तैं, अवाञ्छित गतिविधिको निगरानी तथा ट्राफिक व्यवस्थापनमा ड्रोनक्यामेरा प्रयोगमा ल्याइएको छ । प्रहरीसँंग तीनवटा ड्रोन क्यामेरा र दुईजना पाइलट छन् । आगामी दिनमा ड्रोनको प्रयोगलाई अझै विशिष्टिकृत गर्ने योजना प्रहरीको रहेको छ ।

प्रहरीले २०६१ सालबाट सीसीटीभी प्रयोगमा ल्याएको हो । काठमाडौंँ उपत्यकामात्र ४७४ वटा सीसी आईपी क्यामरा जडान गरी सुरक्षा निगरानी हुँदैआएको खबर गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्