नेकपा सचिवालयको अनौपचारिक बैठक बलुवाटारमा जारी, नयाँ नक्साबारे छलफल हुँदै



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) दिउँसो नेकपा सचिवालयको अनौपचारिक बैठक शुरु भएको हो ।

बैठकमा नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता एजेन्डामा छलफल हुँदैछ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।

यता सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नयाँ नक्सा समावेश गर्न संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो । यस विषयमा पनि नेकपा बैठकमा छलफल हुने बताइएको छ । यसबाहेक १५ जेठमा आउने आगामी वर्षको बजेट तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यसैगरी जारी बैठकमा एमसीसीको विषय पनि छलफल हुने नेकपा प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्