
काठमाडौं : पुलवामामा भएको घटनालाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका नवजोत सिंह सिद्धुलाई भारतीय सोनी टेलिभिजनमा प्रसारण हुने द कपिल शर्मा शोबाट हटाइएको छ।
उनलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएपछि शोबाट हटाइएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन्। उनको स्थानमा अब अर्चनासिंह पुरीलाई ल्याइने छ। सिद्धुको स्थानमा अर्चनालाई ल्याउन लागिएको यो दोस्रो पटक हो। यसअघि सन् २०१७ मा अर्चनालाई उनको स्थानमा ल्याइएको थियो।
सिद्धुले भारतको काश्मिरस्थित पुलवामामा गत बिहीबार भएको आतंकवादी हमलालाई लिएर केही व्यक्तिले गरेका नराम्रा कामलाई लिएर समग्र देशलाई नै दोषी ठहर गर्न नमिल्ने बताएका थिए। उनले भनेका थिए–‘केहि व्यक्तिले गरेको नराम्रो कामले समग्र देशलाई र कुनै व्यक्तिलाई नै जिम्मेदार मान्न सकिन्छ ? यो हमला निकै कायर हमला हो। म यो घटनाको निन्दा गर्छु। कुनै पनि हिंसालाई कुनै पनि तरिकाले जायज मान्न सकिन्न। जसले यस्तो निन्दनीय कार्य गरेको छ त्यसले सजाय पाउनुपर्छ।’
यसपछि उनको सामाजिक सञ्जालमा निकै विरोध भयो। सामाजिक सञ्जालहरुमा उनलाई शोबाट हटाउन दबाब दिन अभियान नै चल्यो। सञ्जाल प्रयोगकर्ताहरुले उनलाई शोबाट नहटाइए कार्यक्रम नै बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए। काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी ४० जना भारतीय सैनिकको मृत्यु भएको थियो।