नारायणी अस्पतालबाट ९ जना संक्रमितहरु कोरोना जितेर डिस्चार्ज हुँदै



पर्साः वीरगन्जस्थित नारायणी अस्पतालबाट आज (शनिबार) ९ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज हुँदै छन् ।

नारायणी र गण्डक अस्पतालमा उपचाररत ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज हुने भएका छन् । ‘कागजी प्रक्रिया मिलाउँदै छौं,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले भने ।

डिस्चार्ज हुनेमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष छन् । नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका छन् ।

डिस्चार्ज हुनेहरु सबै नारायणी अस्पतालमा उपचार गराइरहेका हुन् । नारायणी अस्पतालमा अब ६२ जना मात्र संक्रमित बाँकी रहने छन् । उता नारायणीकै अस्थायी नामले संचालित गण्डक अस्पतालमा रहेका २५ जना संक्रमित भने डिस्चार्जको सूचीमा नपरेको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेहरुमा वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, वडा नं.३ का ५० बर्षीय, वडा न.१६ का ५१ वर्षीय पुरुष छन् ।

त्यसै गरी बाराको सिम्रौनगढ ४ का ३१ वर्षीय, जितपुर सिमरा १ का ४३ वर्षीय पनि पुरुष पनि रहेका छन् ।

उता रौतहट गुजरा नगरपालिका ५ का ३५ वर्षीय, इशनाथ नगरपालिकाका १९ वर्षीय, वृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र तथा ४२ वर्षीय एक भारतीय पनि पुरुष डिस्चार्ज हुने अस्पतालले जनाएको छ । तीमध्ये दुई जना वैशाख १४ गते डिस्चार्ज भई पुनः २१ गते भर्ना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्