भारत नौतनवाको क्वारेन्टिनमा एक नेपाली युवकको मृत्यु



बुटवलः भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताए ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एक जनाको मृत्यु भएको जानकारी पाएको बताए ।

ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिननमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि मृत्यु भएको बताइएको छ ।

हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहेका उनको खुट्टा र अन्डकोष सुन्निएको भारतीय अधिकारीहरुले बताएका छन् । सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्