बढी मोबाइल चलाए बच्चालाई कोर्टेक्स हुने डर



काठमाडौं : तपाईंको घरमा बालबालिकाले धेरै फोन, ल्यापटप या ट्याब चलाउँछन् भने विचार पुर्याउने बेला आएको छ । चिकित्सकले स्मार्टफोन र भिडियो गेममा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई कोर्टेक्स (मस्तिष्कको बाहिरीपत्र) समयअगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका प्रमुख डा। रवि शाक्यले स्क्रिनमा धेरै समय बिताउनु बच्चाको आँखाका लागि मात्र नभई मस्तिष्कका लागि समेत हानिकारक भएको जानकारी दिए ।

उनका अनुसार छ वर्षसम्मका बच्चाको मस्तिष्क तीब्र रूपमा विकसित हुने हुँदा बच्चा बसिरहनुको साटो उनीहरूलाई रचनात्मक प्रोत्साहनको आवश्यकता हुन्छ तर स्क्रिनका सामग्रीले निष्क्रियतालाई बढावा दिन्छ । एकपटकमा १० मिनेटभन्दा बढी स्क्रिनमा बिताउँदा मस्तिष्क विकास प्रभावित हुने जानकारी दिदै शाक्यले भने, ‘बालबालिकाको स्क्रिनमा बिताउने समय बृद्धि भएको छ ।’

काम सिध्याउनका लागि बच्चालाई मोबाइल दिएर भुलाउनु निकै उपयोगी लाग्न सक्छ वा बच्चालाई भिडियो देखाएर खाना खुवाउन सजिलो हुनसक्छ तर यसले बच्चाको स्वास्थ्यमा विभिन्न दीर्घकालीन समस्या निम्त्याउन सक्ने विज्ञको सुझाव छ ।

स्क्रिनमा अत्यधिक समय बिताउँदा बालबालिकामा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्न सक्ने जानकारी दिदै यसले आँखामा अत्यधिक तनाव पैदा गर्न सक्छ वा यो आँखाको सुख्खापनको कारण पनि हुनसक्छ, डा. शाक्यले भने ।

धुलिखेलस्थित मानसिक रोग विशेषज्ञ डा. रिचा अमात्यले धेरै मोबाइलजस्ता समग्री बच्चाहरुले चलाएमा ‘अटेन्सन डिफिसिट हाइपरअ्याटिक्भीटी’ को समस्या हुने पनि बताए । उनले मोबाइल धेरै हेरेमा व्यवहारमा धेरै फरक आउन थाल्छ । बालबालिका झगडा गर्ने, भनेको नमान्ने, एक एकोहोरो हुने बताउँदै मानसिक विकासमा पनि कमी हुने जानकारी दिए ।

डा. अमात्यका अनुसार बालबालिकालाई मोबाइल, ल्यापटप हेर्न दिए पनि त्यो लामो समयका लागि हुनुहुन्न । उनले कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) भनेको ६० वर्ष कटेपछि मात्र कम हुँदैजाने बताउँदै बालबालिकाले स्क्रिन बढी हेरेमा यस्तो समस्या चाँडै आउँदैन भन्न नसकिने बताए ।

फोनमा केही हेर्दै खाने बालबालिकाले आवश्यकताभन्दा बढी खाइरहेका हुनसक्छन् भने खाना र मनोरञ्जनबीच अस्वस्थकर सम्बन्ध स्थापित हुने पनि डा.अमात्यको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्