जनकपुरधामको क्वारेन्टाइन कोरोनाको स्रोत बन्ने खतरा, करिव डेढ दर्जन व्यक्ति अलपत्र



जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर–४ स्थित गोपाल धर्मशालामा सञ्चालन गरेको क्वारेन्टाइन नेपाल सरकारले बनाएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीत रहेको देखिएको छ ।

गत मंगलबारदेखि गोपाल धर्मशालामा सञ्चालन गरिएको ५० बेडको क्वारेन्टाइनमा एक हप्ता नबित्दै क्षमता भन्दा बढि मान्छेको भीड बढेको छ । सिमानाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेपछि यहाँ थेग्न नसक्नेगरि भीड बढेको हो ।

आज (शनिबार) मात्रै जटहि नाकाबाट प्रवेश गरेका करिव डेढ दर्जन व्यक्तिलाई धनुषाको नगराईन नगरपालिकाको एम्बुलेन्समा राखि यहाँ पुर्याइएको छ । तर उनीहरु यहाँ आएपछि अलपत्र परेका छन् ।

५० बेड क्षमताको क्वारेन्टाइनमा अहिले ७० जना भन्दा बढि व्यक्तिलाई जसोतसो कोंचेर राखिएको छ । झन आज फेरि करिव डेढ दर्जन व्यक्ति सिमानाकाबाट प्रवेश गरेर यहाँ आएपछि उपमहानगरलाई उनीहरुको व्यवस्थापन गर्न धौधौ परेको छ ।

‘उनीहरु बेलुका ४ बजेदेखि क्वारेन्टाइनस्थलको बाहिर भोकभोकै बसेका छन्,नेपाल तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साहले भने,‘मैले यिनीहरुको व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई जानकारी गराईसकेको छु तर उपमहानगरपालिका लगायत कुनैपनि निकायले यिनीहरुलाई कसरी कहाँ राख्ने भनेर राती ९ बजेसम्म कुनै व्यवस्था मिलाउन सकेको छैन् । यदि यिनीहरु यहाँ नबसेर सिधै आफ्नो घर गईहाल्यो भने भोलीको दिनमा समाजमा संक्रमणको खतरा झन बढेर जान्छ ।’

क्वारेन्टाइनमा बस्नेहरुका लागि स्वास्थ्य,सञ्चार,पानी र विद्युतको समूचित व्यावस्था गर्नुपर्ने सरकारी मापदण्डमा उल्लेख छ । तर यहाँ बेड क्षमता भन्दा बढि मान्छे पुगेपछि एउटै बेडमा दुईजनासम्मलाई राखिएको बताइएको छ।

आज गोपाल धर्मशालास्थित यस क्वारेन्टाइनमा जनकपुरधाम(२१ का राजु मण्डल (दिल्ली) बाट,जनकपुरधाम-१९ का रबिन्द्र मण्डल (बोधगया) बाट र जनकपुरधाम-६ का बिनय कुमार साह,जनकपुरधाम-४ का सुमन साह र बिक्की साह एवं जनकपुरधाम-६ का श्यामसुन्दर यादव र बिबेक यादवलगायतका करिव डेढ दर्जन व्यक्तिहरु कलकत्ताबाट आएर अलपत्र परेका छन् ।

क्वारेन्टाइनमा बस्नेहरुका लागि बिहान ७ः३० देखि ८ बजेसम्म चिया र खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिवा खाजा, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिने सरकारी मापदण्डमा तोकिएपनि उपमहानगरको यस क्वारेन्टाइनमा खानापिनाको कुनै ठेगान नै छैन ।

नेपालले विश्व स्वास्थ्य संगठन अनुसारकै मामदण्ड बनाएको छ । मपदण्ड राम्रो छ । तर, क्वारेन्टाइन राम्रो छैन । यसले झन् संक्रमण फैलिने विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्यविदहरु भन्छन्,’संक्रमण नफैलियोस् भनेर क्वारेन्टाइनमा राख्ने गरिन्छ तर नेपालका क्वारेन्टाइन नै कोरोनाको स्रोत बन्ने खतरा देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्