दाउरा नलगे विद्यार्थी निःशुल्क दिवा खाजाबाटै वञ्चित



बाजुरा : ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, बाजुराका आधारभूत तहका विद्यार्थी भने विद्यालयमा दाउरा नलगे सरकारी दिवा खाजाबाटै वञ्चित हुने गरेका छन् । 

विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा नै नदिएर विद्यालयले साना केटाकेटीमाथि यातना दिएका छन् । 

गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत प्रविता बोहराले दाउरा नलगे खाजा नपाइने बताइन् । ‘दाउरा नलिई विद्यालय गए खाजा नदिई सरले घर पठाउनुहुन्छ, दिनदिनै लानैपर्छ,’ बोहराले भनिन् ।

उनकी बहिनी सञ्जिताले पनि शिक्षकको निर्देशनअनुसार आफू र अन्य सबै साथीले हरेक दिन दाउरा बोकेर जाने गरेको सुनाइन् । शनिबार बिदाको दिन जंगल गएर दाउरा बटुल्ने र हरेक दिन विद्यालय जाँदा लैजाने गरेको उनीहरूले बताए । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्