फोरम र राजपा सरकारसँग असन्तुष्ट



काठमाडाैं : मधेसकेन्द्रित दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सरकारसँग असन्तुष्ट छन । फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल छ भने राजपाले समर्थन गरेको छ । एक वर्षसम्म पनि संविधान संशोधन गर्ने सहमति कार्यान्वयन प्रक्रिया सुरु नगरेको भन्दै फोरम र राजपा असन्तुष्ट बनेका हुन् । 

राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले आफूहरूको आशा र अपेक्षाअनुरूपका सरकारले काम गर्न नसकेको बताए । ‘हामीले जुन आशा र अपेक्षा लिएर ओलीजीलाई प्रधानमन्त्रीमा समर्थन गरेका थियौँ, त्योअनुरूपका कुनै पनि काम एक वर्षको अवधिमा भएनन्,’ उनले भने, ‘संविधान संशोधन गरी मधेसका माग सम्बोधन गर्ने भनियो । तर, अहिलेसम्म प्रक्रिया सुरु गरिएको छैन ।’ 

संविधान संशोधनमा सरकार उदासीन

सत्तारुढ दल फोरमका महासचिव रामसहाय यादवले आफूहरू सरकारमा जाँदा गरेको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले प्रक्रिया सुरु नगरेको भन्दै असन्तुष्टि जनाए । नेकपा संसदीय दलको बैठकले आफूहरूसँग भएको सहमति कार्यान्वयन गर्न नचाहेको उनको भनाइ छ । 

‘अब पनि प्रधानमन्त्री र नेकपा हामीसँग गरेको सहमति कार्यान्वयनको दिशामा अगाडि बढेनन् भने पार्टीबाट आवश्यक निर्णय लिएर अगाडि बढ्छौँ । त्यो सरकार र मुख्य सत्तारुढ दलले बुझोस्,’ यादवले भने, ‘एक वर्षमा सरकारले गरेका काममा हामी सन्तुष्ट छैनौँ । गर्छु भनेर गरेको सहमति कार्यान्वयन नगरेपछि सधैँ बाटो हेरेर बस्ने कुरा आउँदैन ।’ आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्