गाउँलेको कुटाइबाट एकको मृत्यु, छ बेपत्ता



जाजरकोट : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।

नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्