क्रसर डनको कब्जामा चुरे, कानुन, प्रशासनभन्दा शक्तिशाली क्रसर उद्योग



जनकपुर : प्रदेश २ मा दोहन बढेपछि चुरेभावर संकटमा परेको छ। विशेषगरी महोत्तरी, धनुषा, सिरहालगायत तराई मधेसका भावर क्षेत्र कुरूप बन्न थालेको छ। चुरे विनाशले जल, जमिन, जंगल, जीवजन्तु र जनताको जीवनसमेत संकटमा पारेको छ। तर दुर्भाग्य, राजनीतिक दल र नेताकै संरक्षणमै चुरेमा अहिले क्रसर डनको बिगबिगी छ।

यहाँ मापदण्डविपरीत क्रसर सञ्चालनमा छन्। उनीहरूको उत्खनन रोकिने छाँट छैन। त्यस्ता क्रसर उद्योगलाई न कानुनले छोएको छ, न त प्रहरी–प्रशासनले नै यसमा ध्यान दिएको छ। राजनीतिक दलहरूले यतातिर दृष्टि लगाउने कुरै भएन, किनकि उनीहरू नै त हन् क्रसर डन पोस्नेहरू।

महोत्तरीमा चार दर्जन क्रसर उद्योग सञ्चालनमा छन्। तीमध्ये अधिकांश अवैध छन्। धनुषामा १३ वटा क्रसर उद्योगमध्ये आठ उद्योगलाई प्रशासनले गैरकानुनी भनेको छ। तर कारबाही हुन सकेको छैन। सिरहमा १७ मध्ये १० क्रसर उद्योग अवैध छन्। क्रसरको कच्चापदार्थ चुरैमै पर्छ।

ती उद्योगले चुरेभारलाई उत्खनन गरेर बर्बाद बनाएका छन्। चुरे क्षेत्र नेपाल, भारत र पाकिस्तानमा फैलिएको छ। चुरेको सबैभन्दा बढी क्षेत्र नेपालमा छ। नेपालको कुल क्षेत्रफलमध्ये १२ दशमलव ७८ प्रतिशत चुरे पहाड पर्छ।

‘चुरे गेग्य्रानले बनेको कमलो कान्छो पहाड हो। चुरेको अवैज्ञानिक दोहन बढ्दै गए मधेस मरुभूमिमा परिणत हुन सक्छ’, चुरे–तराई अन्तरसम्बन्धका जानकार डा. विजयकुमार सिंह भन्छन्। आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्