कोलकता–वीरगञ्ज विद्युतीय कार्गाे शुरु



वीरगञ्ज : उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालबाहक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो ।

वीरगञ्जसँगै विराटनगरमा समेत विद्युतीय कार्गो प्रणाली शुरु गर्ने निर्णय भए पनि आईसीपीको निर्माण सम्पन्न नभएका कारण रोकिएको छ । यसअघि विशाखापट्नमबाट विद्युतीय कार्गो शुरु भएको थियो । आठ महिनादेखि निरन्तर विद्युतीय कार्गो वीरगञ्जको सुक्खा बन्दरगाहका लागि छुट्दै आएको थियो ।

कोलकाता बन्दरगाहादेखि पनि यो सुविधा हुनुपर्ने माग गर्दै आएका उद्योगी व्यवसायीले वीरगञ्जका लागि कार्गो छुट्नु व्यापार सहजीकरणका लागि कोसेढुंगा मानेका छन् । ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टमअन्तर्गत मालवाहक रेल कोलकाता बन्दरगाहबाट शुक्रबार साँझ वीरगञ्जको सुक्खा बन्दरगाहका लागि हिंडिसकेको छ । कोलकाताबाट २० वटा कन्टेनर बोकेर मालवाहक रेलको विद्युतीय कार्गो सेवाको शुक्रबार साँझ विशेष अवसरका रूपमा शुभारम्भ गरिएको थियो ।

कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालको प्रमुख आतिथ्यमा झण्डोतोलन गरिएपछि विद्युतीय कार्गो नेपाल प्रस्थान गरेको हो । बन्दरगाहस्थित कमिस्नर कस्टम मनिषचन्द्र, कनकोरका महाप्रबन्धक शाहिद रहमन र बन्दरगाह सञ्चालक समितिका अध्यक्ष विनितकुमारसहितले महावाणिज्यदूत अर्यालसँगै एकै पटक झन्डा देखाएका थिए ।

नेपाल र भारतबीचको पारवहन र व्यापारमा विद्युतीय कार्गो प्रणालीले ठूलो परिवर्तन ल्याउने धारणा उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । विद्युतीय कार्गो सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह र अन्य ठाउँमा नेपाली व्यवसायीले अनावश्यक रूपमा खर्च गर्दै आएको अर्बौं रुपैयाँ जोगिने दाबी छ । व्यापार सहजीकरणका लागि यो ठूलो फड्को हुने र यसले नेपाली उद्योगी र व्यवसायीका लागि झन्झटमुक्त बनाउने बताइन्छ ।

विशाखापट्नमबाट वीरगञ्जसम्म इसीटीएस रेल बाउन्ड कार्गो सफल भएपछि नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई कोलकाता बन्दरगाहदेखि वीरगञ्ज र विराटनगरसम्म पनि ट्रान्ससिपमेन्ट मोडलअनुसारको इसीटीएस कार्गो ल्याउन अनुरोध गरेको थियो ।

नेपालको अनुरोधलाई भारत सरकारले स्वीकार गर्दै फागुन ३ गते कोलकाता बन्दरगाहबाट पनि इसीटीएस कार्गो वीगरञ्ज सुक्खा बन्दरगाह र विराटनगर नजिकको भारतीय रेलवे स्टेसन बथनाहासम्म परीक्षणका लागि पठाउने निर्णय गरेको थियो तर बथनाहासम्म आएको यो कार्गो व्यवस्थापनमा समस्या हुने भएपछि आईसीपीको निर्माणपछि मात्रै कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्