कश्मिरमा भएको कायरतापूर्ण हमलाको निन्दा



वीरगन्ज : भारतको कश्मिरमा यही बिहीबार भएको आातंकवादी हमलामा ज्यान गुमाएका भारतीय सुरक्षाकर्मीहरुप्रति वीरगन्जका युवाले शनिबार साँँझ दिप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

 घण्टाघर चोकमा वीरगन्ज युवा सञ्जाल परिवारको अगुवाइमा स्थानीय युवाले श्रद्धाञ्जलि सभा र दिप प्रज्वलन कार्यक्रम गरेका थिए । श्रद्धाञ्जलि सभामा राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहले आतंकी हमलामा शहीद भएका भारतीय सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । उनले शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरुन् भनि प्राथना गरेका थिए ।  

‘आंतककारीको कुनै धर्म, कुनै जात हँुदैन’, उनले भने, ‘भारतको पुलवामामा सुरक्षाकर्मीमाथि जुन कायरतापूर्ण हमला भयो त्यो अत्यन्तै निन्दनीय छ र यसप्रति घोर निन्दा गर्दछु ।’  

भारत एक असल छिमेकी राष्ट्र रहेको र नेपाल भारतको सम्बन्ध पनि प्रगाढ रहेकोले मित्र राष्ट्रले गुमाएको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै भारतको यो राष्ट्रिय शोकको घडीमा नेपाली नागरिक साथ रहेको श्रद्धाञ्जलि सभाका अन्य सहभागीहरुले प्रतिबद्धता जनाए ।

सञ्जाल पर्साका संयोजक महमद सगिर अलिको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा प्रदेशसभा सदस्य रमेश कुर्मी, राजपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, राष्ट्रिय विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, ठाराब ईकाई अध्यक्ष अमित यादव, सञ्जालकी उपाध्यक्ष पूजा गिरी, अनिश कुशवाहा लगायतका युवाको सहभागिता रहेको थियो । 

गत बिहीबार कश्मिरको पुलवामामा भएको आतंकी हमलामा भारतका केन्द्रीय रिजर्व पुलिस फोर्स (सीआरपीएफ) का ४० जना जवानको ज्यान गएको   थियो । 

प्रतिक्रिया दिनुहोस्