सीमावर्ती क्षेत्रमा खुलेआम तस्करी, प्रहरी प्रशासन मौन



सिरहा : लहानबाट निकासी भएका गिट्टी बालुवा सिमावर्ती क्षेत्रमा संकलन गरेर प्रहरीकै मिलेमतोमा रातारात भारत पुर्याउने गरिएको छ ।

प्रहरी चौकी कचनारीको मातहतमा रहेको भारतीय सीमासँगै जोडिएको नरगी गाउँबाट दैनिक २५ देखि ३० ट्रयाक्टरमा बालुवा गिट्टी संकलन गरी भारत पुर्याउने गरिएको स्थानीय वासिन्दाले बताएका छन् । 

संकलित बालुवा गिट्टी कचनारीका प्रहरी इन्चार्ज धनवहादुर खडकाका निगरानीमै सीमापारि भारत पुर्याउने गरिएको आरोप छ । गिट्टी बालुवा संकलनका ठेकेदार बरहरीका जगवीर यादव, नरगीका अशोक यादवलगायत पाँच जनाको समूह सक्रिय रहेको बताइएको छ । 

बरियारपट्टि गाउँपालिकाको कजरा, कचनारी र नरगी हुँदै भारतको पिपराही पुर्याएर भारत बिहारको विभिन्न बजारमा लहानको बालुवा गिट्टी अवैध रुपमा तस्करी भइरहेको छ । 

प्रहरीको मिलेमतोमा नेपालबाट मरिच, मटर लगायतका सामग्री पनि भारत पुर्याउने गरिएको छ । भारतबाट भन्सार छलेर दैनिक २५ देखि ३० लाख रुपैयाँ सम्मको कपडा, इलेक्ट्रोनिक पार्टपूर्जा, खाद्यान्न सामाग्री नेपाल भित्रिने गरेको छ । तस्करहरुले भारतबाट साईकल, मोटरसाईकल, ट्रयाक्टर, जिप, मिनी ट्रकमार्फत भन्सार छलेर नेपाल भित्र्याउने गरिएको छ । 

बालुवा गिट्टीका कारोवारी अशोक यादव भन्छन् —‘काम गरेर खान दिनुस्, हाम्रो जिल्लासम्म पकड छ । यहाँका प्रहरीसँग पटक पटक बैठक भइरहेको छ ।’ उता, शनिवार स्थानीय सञ्चारकर्मी मुकेश यादव र उनीसँग रहेका दिनेश यादवले सिमाक्षेत्रमा रहेको बालुवा गिट्टीको फोटो खिच्दा कारोबारी जगदीश यादवले दुर्व्यवहार गरेका छन् । 

फोटो खिचेका दिनेशलाई गुण्डा शैलीमा जगवीरले गालीगलौज गर्दै मोबाईल नियन्त्रणमा लिएर गिट्टी बालुवाको दृश्य हटाउन लगाएका थिए । गिट्टी बालुवा तस्करीवारे जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले भने ‘यो हुनै सक्दैन, यदि यस्तो भइरहेको छ भने त्यहाँको प्रहरीले पैसा खाएर कारोवार गराइरहेको हुनुपर्छ ।  यो नियन्त्रण गरेर नै छाड्छु ।’ विशेष टोली पठाएर त्यसको नियन्त्रणप्रयास थाल्ने उनले बताए । 

पशुपति उच्च मावि लहानको जग्गा भाडा लिएर पसल सञ्चालन गर्दैआएका कौशलको मुख्य कारोवार राजनिवास र रजनीगन्धाको तस्करी रहेको स्थानीय वासिन्दाले बताए । कौशलले दैनिक लाखौको राजनिवास र रजनीगन्धा अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् । कौशलले लहानक्षेत्रका अधिकांश पसललाई रजनीगन्धा र राजनिवास दिदै आएका छन् । 

कौशलसँगै स्थानीय दिपेन्द्र साह पनि यस्तै कारोवारमा सक्रिय छन् । दुवैजनाले अवैध रुपमा सरकारी राजस्व छलेर सामान सीमावारिपारि गर्ने गरेका स्थानीयको आरोप छ । 

यस क्षेत्रबाट खुलेआम तस्करी भइरहँदा प्रहरी प्रशासन भने त्यसलाई नियन्त्रण गर्न असफल देखिएको छ । ‘कि त प्रहरी प्रशासन नियन्त्रण गर्न असफल भएका हुन्, होइन भने यी कारोवारमा प्रहरी प्रशासनको मिलेमतो छ’, स्थानीय एक व्यक्तिले भने ।

    

प्रतिक्रिया दिनुहोस्