भारतको विभिन्न ठाउँमा शोक प्रदर्शन



नयाँ दिल्ली :  भारत प्रशासित कश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौं भारतीयले शनिबार शोक प्रदर्शन गरेका छन् ।

कश्मिरका केही स्थानमा आइतबार पनि निशेधाज्ञा जारी रहेको छ । विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार पाँचसय सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन् ।

कश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गरेका थिए ।

सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतःस्फूर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तानविरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन् ।

घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ । जम्मू–कश्मिरको पुलवामा जिल्लाको लेथपोरानजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । तीनसय किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्