महाकाली सन्धि गर्दा गम्भीर त्रुटि भयो : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाकाली सन्धिमा त्रुटि भएको पहिलोपटक स्वीकार गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले महाकाली सन्धि गर्दा गम्भीर गल्तीलाई स्वीकार गरेका हुन् ।

उनले महाकालीको मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटि रहेको बताएका छन् ।

आइतबार नागरिक दैनिक पत्रिकाका सम्पादक गुणराज लुईटेलसँगको अन्तर्वार्तामा मन्त्री ज्ञवाललीले महाकाली सन्धि गर्दा गम्भीर गल्ती भएको स्वीकार गरेका हुन् ।

विसं. २०५२ साल माघ २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावलले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए भने त्यसको तत्कालिन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । साथै केपी शर्मा ओली महाकाली सन्धिका बलिया समर्थक थिए ।

अहिलहेको एमसीसीजस्तै महाकाली सन्धि पनि संसदबाट पारित गराउनुपर्ने थियो । त्यसबेलाको संविधानअनुसार सन्धि सम्झौताहरु संसदको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्थ्यो ।
दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि २०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्यो ।

अहिले महाकाली सन्धि भएको २३ वर्ष वितिसकेको छ । तर, पछिल्लो पटक नेपाल–भारतबीच सीमा विवाद चर्किदै गइरहेको छ ।

पछिल्लो पटक भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग उद्घाटन गरेपछि दुई देशबीच पुनः सीमा विवाद शुरु भएको छ ।

गत कात्तिकमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै कालापानी र लिपुलेक आफ्नो भूमिमा देखाएपछि संसद र सडकमा कालापानी अतिक्रमणको विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्