आमाछोरामाथि निर्घात कुटपिट, पीडक भने राजनीतिक पहुँचको आधारमा उम्कदै



जनकपुरधाम : जनकपुरमा सामान्य विवादका कारण आफ्नै छिमेकीले आमाछोरालाई निर्घात कुटपिट गरेको घटनाको एक हप्ता पुग्नलाग्दा समेत पीडितले अझै न्याय पाउन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ नमुनावस्ती बस्ने ४० वर्षीया बबिता पुर्वे र उनका १८ वर्षीय छोरा राहुल पुर्वेमाथि गत जेठ ५ गते साँझ करिव साढे ७ बजे उनकै छिमेकीहरुले निर्घात कुटपिट गरेका थिए।

उनीहरुबीच आपसमै बाटो सम्बन्धि सामान्य विवाद हुँदा स्थानीय शर्मा भण्डारी, रामनिवास भण्डारी र रामचन्द्र साहले आमाछोरामाथि कुटपिट गरेका थिए ।

पीडितहरुको उजुरीको आधारमा स्थानीय मुजेलिया प्रहरीचौकीले पीडकमध्येका रामनिवास भण्डारीलाई घटना भएकै राती पक्राउ गरेपनि राजनीतिक पहुँचको आधारमा प्रहरीले भोलीपल्ट नै पीडितलाई कुनै जानकारी नै नगराई छाडियो ।

त्यसपछि घाइते बबिताको श्रीमानले जिल्ला प्रहरी कार्यालय धनुषामा पीडक विरूद्ध जाहेरी दिए । तर, जाहेरी समेत त्यहाँ दर्ता नगरि हालसम्म उनीहरुमाथि कुनै कारबाही अगाडी नबढाइको पीडित बबिताले बताइन् ।

जिल्ला प्रहरी कार्यालयले आइतबार उनीहरुलाई छलफलका लागि बोलाएर पुनः शुक्रबारको समय निर्धारण गरि फर्काइदिएको छ । यता, दोषीहरुले राजनीतिक पावर लगाई उन्मुक्ति पाउँदै आएको पीडीत राहुलको दुखेसो छ ।

कुटपिटबाट आमाछोरा दुबै जनाको टाउको, नाक, हात र छातीमा गहिरो चोट लागेको छ । उनीहरुलाई पीडक पक्षले अहिलेसम्म उपचार खर्च समेत उपलब्ध नगराई उल्टै मिलापत्रका लागि केहि राजनीतिक दलका नेताहरुले दबाब दिँदै आईरहेको बताइएको छ।

यता प्रहरीले भने उनीहरुलाई आज छलफलका लागि बोलाएपनि समय अभावका कारण छलफल हुन नसकेकोले शुक्रबारको समय दिईएको र सो दिन छलफल पश्चात घटना मिलापत्र गराउने तर्फ पहल गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्